स्वास्थ्यको कर्मचारी भर्तिमा विवादित बसन्तको काठमाडौं महानगरबाट अपमानजनक बहिर्गमन


काठमाडौं । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको कर्मचारी भर्ति गर्दा कार्यापालिकाको निर्णय किर्ते विवादमा मुछिएका काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अपमानजनक बहिर्गमन भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि विश्वासघात गरेपछि उनको अपमानजनक बहिर्गमन हुन पुगेको हो ।

कार्यपालिकाको निर्णय किर्ते काण्डमा छानबिन चलिरहेको अवस्थामा बसन्त मधेशी आयोगमा पुगेका छन् । कुनै बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एकछत्र राज गरेर आफूले रोजेको काठमाडौं महानगरपालिकामा सरुवा लिएर गएका चतुर प्रशासक बसन्त मधेशी आयोगमा फ्यालिएका हुन् । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदिप परियारको सरुवा भएसँगै उनी मधेशी आयोग पुगेका छन् ।

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएपछि बसन्तले एकपछि अर्को बदमासी गरेको तथ्य समेत सार्वजनिक हुन थालेको छ । बालेनको सचिवालयमा कार्यरत आठौं तहकी कर्मचारी भगवती बिडारीकी छोरीलाई जागिर खुवाउने नाममा कार्यपालिका कै निर्णय किर्ते गरेको फेला परेपछि बसन्तले महानगरबाट अपमानजनक बहिर्गमन भोग्नु परेको हो ।

सहसचिव महेश बराल काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुने तयारी भएका बेला बालेनले बसन्तको सरुवा नगरिदिनु भनेर विभागीय मन्त्रालयलाई अनुरोध समेत गरेको चर्चा छ । तर, कार्यपालिका कै निर्णय किर्ते गरेर उनले प्रमाणीकरण गरेको भेटेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्पर्क गरेर बालेनले उनीमाथि किर्तेमा कारबाही गर्न भन्नु पर्ने अवस्था आयो ।

कार्यपालिकाको निर्णय किर्ते गरेर प्रमाणीकरण गरेकाले प्रमुख प्रशासकीय अधिकृत बाहनाबाजी गरेर उम्कने सम्भावना कमै देखिन्छ । काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सुमननरसिंह राजभण्डारीको नेतृत्वमा उक्त किर्ते प्रकरणको छानबिन भइरहेको छ । त्यो काण्डमा मेयरको सचिवालयका प्रमुख नूरनिधि न्यौपाने, बिडारी र स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल निलम्बनमा परेका छन् । बसन्त भने बालेनसँग कुरा मिलिसक्यो भन्दै सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रसाद सिंहलाई ढाँट्न मै व्यस्त रहे ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण गर्ने मुख्य जिम्मेवार प्रमुख प्रशासकीय अधिकृत बसन्त गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडे । उनले मिडियामा समेत झूट बोले । अन्तत: काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बसन्तको महानगरबाट अपमानजनक बहिगर्मन भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति खारेजीमा परेपछि धादिङको धुनिबेशी नगरपालिकामा सरुवा भएकी सर्वोच्चकी एक न्यायाधीशको श्रीमतीलाई बसन्तले एकैपटक दुई तह बढुवा खुवाएको चर्चा छ । भावी प्रधानन्यायाधीशको लाइनमा रहेका ती न्यायाधीशको श्रीमतीका कारण अन्यले पनि त्यसको फाइदा लिन सफल भए । आफैं कार्यरत उच्च अदालतमा हुँदा समायोजन नै नगर्न आदेश दिलाउन ती न्यायाधीशकी श्रीमतीले बढुवामा छलाङ मारेको चर्चा छ । जसरी ती न्यायाधीशले न्याय सेवामा हुँदा छलाङ मारेका थिए ।

भूमाफियासँग लिबरल बसन्तले बालेनको अभियानलाई समेत अदृश्य रुपमा सहयोग गरेको आरोप छ । उनको साँठगाँठ सरकारी जग्गा खानेहरुसँग हुनु र उनीहरुको बचाउमा लाग्नुले त्यो कुराको पुष्टि गर्छ ।

काठमाडौं महानगरपालिकामा अझै टिक्ने प्रयासमा रहेका बसन्तको अपमानजनक बहिर्गमन हुनुले बदमासी गर्नेलाई काठमाडौं महानगरपालिका छुट छैन भन्ने सन्देश दिएको छ । काठमाडौं महानगरपालिकाका गएका नयाँ तथा युवा प्रमुख प्रशासकीय अधिकृत प्रदिपले भनेर महानगरको साख राखेर सम्मानजनक बहिर्गमन पाउन सकून् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #काठमाडौं महानगरपालिका, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #प्रदीप परियार, #बसन्त अधिकारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com