मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको पुष्टि


काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश झा (अहिराज) साबिक धोबीखोला हडपेर घर बनाएको पुष्टि भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सतिश तण्डुकारका अनुसार उनको घरले आधाभन्दा बढी सरकारी जग्गा हडपेको पाइएको छ । वडा कार्यालय र नापीको संयुक्त टोलीले नापी गर्दा डा. राजेश अहिराजको साढे ५ तले घरको आधाभन्दा बढी भागले सरकारी जग्गा हडपेको हो ।

धोबीखोला हडपेर डा. राजेश अहिराजले बनाएको साढे ५ तले घर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि डा. राजेश अहिराजको घर नापी भएको थियो । उक्त नापीले उनको घरमा रातो चिन्ह लगाएको छ । सरकारी जग्गामा घर बनेको पाइएपछि अख्तियारको निर्देशनमा डा . राजेश अहिराजको घरमा रातो चिन्ह लगाइएको हो ।

रेखाङ्कनमा परेको डा. राजेश झाको घरको भाग

स्वास्थ्य लाइभले मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराजले धोबीखोला हडपेर घर बनाएको खुलासा गरेको थियो । उक्त खुलासालगत्तै उनले नगर १० सिट नम्बर १०२-११४६-०२ कित्ता नम्बर ४३१ मा बनेको २ तले घर भत्काएका थिए । साबिक धोबीखोला हडपेर बनाएको उक्त २ तले संरचनाबाट डा. राजेश अहिराजले मासिक लाख बढी भाडा लिइरहेको स्वास्थ्य लाइभले फेला पारेको थियो । त्यसलगत्तै उनी उक्त अवैध संरचना हटाउन बाध्य भए ।

स्वास्थ्य लाइभले डा. राजेश अहिराजको साढे ५ तले अर्को घर पनि साबिक धोबीखोलामा पर्ने दाबी गरेको थियो । नापी कार्यालयको फिल्डबुकमा बकाइदासँग कित्ता नम्बर ७३८ साबिक धोबीखोला उल्लेख छ । तर, उनले त्यो जग्गा आफ्नो पूर्जा भएको दाबी गर्दै आएका छन् । पछिल्लो रेखाङ्कनले भने स्वास्थ्य लाइभको दाबी र प्रमाणलाई धोबीखोला हो भन्ने पुष्टि गरेको छ ।

कित्ता नम्बर ७३८ साबिक धोबीखोला उल्लेख भएको फिल्डबुक

२०२२ सालको नापी नक्सा हेर्दा पनि डा. राजेश अहिराजको घर धोबीखोलाभित्रै पर्छ । उनले कसैसँग नक्कली पूर्जा किनेर वा बनाएर साबिक धोबीखोला मेरो हो भनेका त हैनन् भन्ने शंका उब्जिएको छ । डा. राजेश अहिराजले साबिक धोबीखोलामा घर बनाउने आँट कसरी गरे त्यो समेत थप खोजीको विषय हो ।

२०२२ सालमा नापी हुँदा धोबीखोला जनिएको नक्सा

अख्तियार दुरूपयोग अनुसन्धान आयोग र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सक्रियतासँगै धोबीखोला करिडोरका भूमाफियाहरू भागाभाग भएको छ । उक्त सूचीमा पछिल्लो समय मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा. राजेश अहिराज थपिएका छन् । स्वास्थ्य लाइभको सरकारी/सार्वजनिक जग्गा खोजी अभियानमा उनको बदमासी पहिला नै खुलासा भइसकेको छ । त्यसलाई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत पुष्टि गरेको हो ।

डा. राजेश झा अहिराज र साबिक धोबीखोलामा बनेको उनको घर

बानेश्वर देवीनगर धोबीखोला करिडोरमै भूमाफिया इन्द्रकुमार चाम्लिङ, एमाले नेता हेमराज घिसिङलगायतले सरकारी जग्गा हडपेर घर बनाएका छन् । अख्तियार र काठमाडौं महानगरपालिकाले रेखाङ्कन गरेसँगै चाम्लिङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई भेट्न पुगेको सूचना स्वास्थ्य लाइभले प्राप्त गरेको छ । किराँतीको छोरो भूमाफिया नभए को हुन्छ भन्दै उनी अहिले विभिन्न निकायमा धाउन थालेका छन् । उक्त ठाउँ बनाउन आफ्नो पनि योगदान रहेको दाबी गर्दै चाम्लिङले सरकारी जग्गा आफ्नो पनि भएको बताउने गरेका छन् । उनले भत्काएर सरकारी/सार्वजनिक जग्गामा बनेको संरचना भत्काएर देखाउन सरकार र बालेनलाई चुनौती दिन थालेका हुन् ।

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #इन्द्रकुमार चाम्लिङ, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #डा. राजेश झा अहिराज, #धोबीखोला करिडोर, #धोबीखोला देवीनगर, #मधेश प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com