सिडिओ सरूवामा गृहको बदमासी: ‘क’ वर्गको जिल्ला कास्कीबाट भक्तपुरको सिडिओमा पठाइए भरतमणि पाण्डे

काठमाडौं। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरूवामा फेरि कार्यविधि मिचेको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा उदासीन बन्दै आएको गृह मन्त्रालयले कानुनविपरीत भक्तपुरको सिडिओमा भरतमणि पाण्डेलाई पठाएको हो।
प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरूवा गर्ने वा कामकाज गर्न खटाउनेसम्बन्धी कार्यविधि, २०७९ मा ‘क’ वर्गको जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेको अधिकृतलाई ‘क’ वर्गको जिल्लामा खटाउने प्रावधान छ। तर, ‘क’ वर्गको जिल्ला कास्कीको सिडिओबाट जेठ दोस्रो साता गृह मन्त्रालय तानेका भरतमणि पाण्डेलाई ‘क’ वर्ग कै भक्तपुर जिल्लाको सिडिओ बनाएर पठाएको हो। उक्त निर्णयले गृहमन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीको सुशासनको ‘हावा’ खुस्किएको छ।
सहसचिव पाण्डे मकवानपुर, चितवन, रुपन्देही, कास्की जस्ता जिल्लाको सिडिओ भएर भक्तपुर पुगेका हुन्। उनी सबै जिल्लामा पूरा अवधि बस्ने सिडिओमा पर्छन्। कांग्रेस, एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी सबैका ‘प्यारा’ पाण्डेलाई कार्यविधि मिचेर ‘क’ वर्गको जिल्ला कास्कीबाट ‘क’ वर्ग कै जिल्ला भक्तपुरको सिडिओ बनाइएको हो। पाण्डे सदाबहार सिडिओ बन्न सफल भएका छन्। कानुनविपरीत सिडिओ पड्काउने पाण्डेको शक्तिको स्रोत जाँच्ने बेला भएको छ।
डोटीबाट भक्तपुरको सिडिओ भएर आएका गोपालप्रसाद अर्याललाई ७ महिनामै अर्घाखाँची पठाइएको छ। पाण्डेलाई भक्तपुर पठाउन अर्याललाई ७ महिनामै अर्घाखाँचीतिर लखेटिएको हो।
अर्घाखाँचीका सिडिओ बेदप्रसाद खरेल ३ महिनामै गृह मन्त्रालयको जगेडामा तानिएका छन्। सिडिओ चलाउने क्षमता नै नभएका खरेललाई ३ महिनामै मन्त्रालय तानिएको हो। इलामबाट फिर्ता बोलाइएकी कल्पना श्रेष्ठ, भोजपुरका नरबहादुर थापा र सिन्धुलीको सिडिओ सहसचिव लिलाप्रसाद शर्मासँगै खरेल गृह मन्त्रालयको जगेडामा पुगेका हुन्। महोत्तरीको सिडिओबाट फर्किएका लालबाबु कवारी पनि गृह मन्त्रालयको जगेडामै हल्लिरहेका छन्।
क्याटेगोरी : समाचारट्याग : #गोपालप्रसाद अर्याल, #बेदप्रसाद खरेल, #भरतमणि पाण्डे, #वेद प्रसाद खरेल
तपाईको प्रतिक्रिया दिनुहोस