१६ करोड हिनामिनामा लागेका वीपीका पदाधिकारीमाथि लगाम


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ करोड हिनामिनामा लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका पदाधिकारीमाथि आर्थिक लगाम लगाएको छ ।

मन्त्रालयलाई प्रतिष्ठानलाई आर्थिक दायित्व पर्ने कुनै पनि प्रकारका काम कारबाही नगर्न, नगराउन वीपीका पदाधिकारीलाई पुन: सचेत गराएको छ ।

मन्त्रालयले आज सहकुलपतिस्तरीय निर्णय गर्दै वीपी प्रतिष्ठानका पदाधिकारीलाई सिनेटको बैठकबाट निर्णय नभएसम्मका लागि दैनिक प्रशासनिक तथा अनिवार्य दायित्व बाहेकका प्रतिष्ठानलाई आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न, नगराउन भनेको हो ।

प्रतिष्ठानमा दैनिक प्रशासनिक तथा अनिवार्य दायित्व, तलबभत्ता, पानी, विजुली जस्ता चालु प्रकृतिका सिर्जना हुनेबाहेकका प्रतिष्ठानलाई आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न, नगराउन यसअघि पनि स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयले त्यो कुराकोसमेत वीपीका पदाधिकारीलाई स्मरण गराएको छ ।

भदौ १७ को उक्त सचिवस्तरीय निर्णय/ निर्देशन विपरीत वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर शाहको मिलेमतोमा १६ करोडको आइसियू भेन्टिलेटर किन्न खोजेपछि मन्त्रालयले प्रतिष्ठानका सहकुलपतिस्तरीय निर्णयबाट लगाम लगाएको हो । यो निर्णय/ निर्देशनविपरीत काम कारबाही भएको अवस्थामा त्यस्तो कार्यबाट प्रतिष्ठानमा हुने/भएको आर्थिक दायित्वको जिम्मेवारी निर्णय गर्ने पदाधिकारी स्वयंको रहने मन्त्रालयले वीपीका पदाधिकारीलाई लिखित जानकारी गराएको हो ।

मन्त्रालयले किन सचेत गरायो ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीपीका पदाधिकारीलाई थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्यहरू नगर्न/ नगराउन भनेर पटकपटक निर्देशन दिएको थियो । तर, त्यसलाई चुनौती दिँदै बीपी प्रतिष्ठानका पदाधिकारीहरुले मूल्य अभिवृद्धि करबाहेक १५ करोड ८४ लाख २१ हजार २ सय मूल्यको आइसियू र भेन्टिलेटर खरिदको सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको स्वास्थ्य लाइभले फेला पारेको थियो ।

एमबी मेडिटेक प्रालीलाई उक्त टेन्डर अवार्ड गर्ने प्रक्रिया अस्पताल निर्देशक डा. शाहले अघि बढाएको तथ्य स्वास्थ्य लाइभले सार्वजनिक गरेपछि त्यसलाई रोक्न उजुरी परेको थियो । तर, अस्पताल निर्देशक शाहले नियमानुसार भएको भन्दै ठेक्का सम्झौता गर्ने प्रयास गरेपछि मन्त्रालयले फेरि सचेत गराएको हो ।

१५ करोड ८४ लाख २१ हजार २ सय मूल्यको आइसियू र भेन्टिलेटर किने त्यसको पैसा खरिद सम्झौता गर्नेले नै तिनुपर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

उपकुलपति गिरी र अस्पताल निर्देशक शाहको मिलेमतोमा सरकारलाई चनौती दिँदै आपूर्तिकर्ताको स्वार्थमा आर्थिक उपचलन हुन लागिरहेको थियो । त्यसलाई मन्त्रालयले रोक्न निर्देशन दिएको हो ।

सम्बन्धित समाचार :

बर्खास्त हुन लागेका वीपीका पदाधिकारी आर्थिक चलखेलमा

वीपी प्रतिष्ठानमा १७ करोड अपचलन गर्ने पदाधिकारीहरूको दाउ

सरकारलाई चुनौती दिँदै वीपीका पदाधिकारी १७ करोडको खेलमा लागे

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com