बागमती प्रदेशमा अस्पतालभन्दा भ्यू टावर बनाउन बजेट केन्द्रित 


हेटौंडा । बागमती प्रदेशमा अस्पतालमा भन्दा भ्यू टावरमा करोडौं रकम विनियोजन गरेको भेटिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले अब प्रदेश सरकारले भ्यू टावरका लागि बजेट विनियोजन नगर्ने स्पष्ट पारेका छन् ।

बागमती प्रदेश सरकारले आज हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा : प्राथमिकता र विनियोजन कुशलता सम्बन्धमा छलफल कार्यक्रममा समेत उनले अब भ्यू टावरको नयाँ आयोजना नराख्ने बताए ।

स्वास्थ्य लाइभले खोजी गर्दा बागमती प्रदेशको यसअघिको डोरमणि पौडेल नेतृत्वको सरकारले भ्यू टावरका नाममा करोडौं रकम दुरुपयोग गरेको फेला पारेको छ । बागमती प्रदेशले हिल स्टेशन र भ्यू टावरका नाममा उक्त रकम दुरूपयोग गरेको भेटिएको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त कागजात अनुसार सिन्धुलीगढी हिल स्टेशन प्याकेजको नाममा ३ करोड ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ऐतिहासिक सिद्धबाबा चुचोरो सिन्धुलीमा भ्यू टावर निर्माण गर्न २ करोड ५५ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

दोलखाको जिरी हिल स्टेशनमा ३ करोड ५८ लाख १८ हजार, नुवाकोटको चिम्टेश्वरमा भ्यू टावर निर्माण गर्न ३ करोड ५० लाख र काभ्रेको रोशी भ्यू टावरका लागि ३ करोड ५७ लाख रुपैयाँ विनियोजन गरिएको पाइएको छ । त्यस्तै धादिङको तोप्लाङ भ्यू टावर निर्माणका लागि २ करोड ६५ लाख ३५ हजार, शिवालय हिल स्टेशनका लागि ३ करोड ३७ लाख १६ हजार र रामेछापको गोगनपानी सुलीथम्का ३ करोड ३५ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

त्यसैगरी नुवाकोटको ककनी हिल स्टेशन प्याकेज ३ करोड ४१ लाख ३३ हजार, मकवानपुरको चित्लाङ हिल स्टेशनका लागि ३ करोड ११ लाख ५६ हजार र सिन्धुलीको मुडे हिल स्टेशनका लागि ३ करोड ३१ लाख १३ हजार रुपैयाँ पैसा छुट्याइएको छ । बागमती प्रदेश सरकारको झन्डै ४० करोड रुपैयाँ बजेट भ्यू टावर बनाउने नाममै गएको देखिन्छ ।

प्रदेश सरकारसँग आवश्यकता र प्राथमिकता छुट्याउने क्षमता नहुँदा भ्यू टावरका नाममा राज्य कोष स्वाहा पार्ने काम भएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य पूर्वाधारलाई लथालिङ्ग छाडेर भ्यू टावरमा पैसा लगानी गर्ने कदमले सरकारको सोच र स्वविवेकमाथि नै गम्भीर प्रश्न खडा भएको छ । यसले प्रदेश सरकारको औचित्य नै खतरामा पार्न सक्छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले नयाँ भ्यू टावरका लागि बजेट नराख्ने घोषणा गरेर प्रदेश सरकारको साख जोगाउन खोजेका छन् । नेपालका डाँडा आफैमा भ्यू टावर रहेको बताउँदै उनले पर्यटनका अन्य पूर्वाधार विकासमा जोड दिएका हुन् ।

क्याटेगोरी : प्रदेश, सुशासन
ट्याग : #अस्पताल, #बजेट दुरुपयोग, #भ्यू टावर, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com