अवैध वात्सल्यलाई संचालन अनुमति दिन स्वास्थ्यमा आर्थिक चलखेल, सेटिङमा मिल्ने चेकलिष्ट तयार


काठमाडौ ।  टेस्टट्युब बेबी (आईभिएफ)को अवैध धन्दा चलाउने वात्सल्य आईभीएफलाई अनुमति दिलाउन स्वास्थ्य मन्त्रालयले छुट्टै चेकलिष्ट तयार पारेको सूचना स्वास्थ्य लाइभमा आएको छ ।

अवैध संचालन गरेर कर छलीको आशंका भएपछि कारबाही गर्नुको साट्टो स्वास्थ्य सचिव डा. रोशन पोखरेल र महाशाखा प्रमुख डा. मदनकुमार उपाध्याय अनुमति दिलाउनतर्फ लागेका छन् । स्वास्थ्य लाइभलाई प्राप्त गोप्य सूचना अनुसार वात्सल्य आईभीएफलाई अनुमति दिन मिल्ने चेकलिष्ट तयार पारिएको छ ।

११ फागुनमा स्वास्थ्य लाइभले ‘निःसन्तानको नाममा अवैध रुपमा पीडित ठग्दै वात्सल्य आईभीएफ’ शीर्षकमा समाचार प्रकाशीत गरेको थियो । उक्त समाचारलाई आधार बनाएर अवैध वात्सल्य र यस्ता धेरैको खोजी हुन्छ भन्ने हामीले अनुमान लगाएका थियौं ।

१८ फागुनमा स्वास्थ्य मन्त्रालयले टेस्टट्युब बेबी (आईभीएफ) संचालन सम्बन्धी सूचना जारी गरेको थियो । उक्त सूचनामा १५ दिनभित्र प्रक्रियामा आउँन भनिएको थियो । उक्त सूचना निकालेको पनी तीनमहिना पुग्ने चरणमा छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्नासाथ २३ वटा आईभीएफ सेन्टर अनुमति लिनका लागि दर्ता प्रक्रियामा आएका थिए ।

मन्त्रालयबाट दुई किलोमिटरको दूरीमा रहेका यी आईभीएफ सेन्टरको अनुगमन गर्न अहिलेसम्म स्वास्थ्य मन्त्रालयका अधिकारी पुगेका छैनन् । मन्त्रालयमा एक अधिकारीले भने, ‘नियम सँगत वात्सल्यमाबाहेक अन्यमा अनुगमन गर्न गएको जानकारीमा छैन । राजधानीबाहिर भत्ता खानुपर्ने भएकाले जान तछाडमछाड हुन्छ । तर, राजधानीभित्र अफिस समयमै जानु पर्ने भएकाले भत्ता आउँदैन । त्यसैले कर्मचारीले राजधानीभित्र जति बदमासी भएपनि गोजीमा खाम पस्ने आधार तयार नहुँदासम्म जाने सोच बनाउँदैनन् ।’,

वात्सल्य आईभीएफको पनि त्यस्तै देखिएको छ । मन्त्रालय स्रोतका अनुसार एकमहिना अगाडि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर तथा अनुममन महाशाखाको टोली वात्सल्य पुगेको थियो । अनुगमनका क्रममा गुणस्तरहीन उपकरण, कामनै नगर्ने ल्याब देखिएको थियो । उक्त टोलीले स्वास्थ्य मन्त्रालयमा आएर रिपोर्ट तयार पारी अवैध ल्याब बन्द गराउनेभन्दा पनि आर्थिक चलखेलमा वात्सल्यलाई अनुमति दिन मिल्नेगरी चेकलिष्ट तयार पारेको अधिकारीहरुले बताएका छन् ।

उक्त चेकलिष्ट तयार भएपछि वात्सल्यको अनुगमनमा पुनः मन्त्रालयको टोली गएको बुझिएको छ । यस विषयमा सम्बन्धित महाशाखाका प्रमुख डा. मदन उपाध्यायलाई बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन ।

स्वास्थ्य मन्त्रालयका अनुसार २३ वटा आईभीएफ सेन्टरले संचालन अनुमतिका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये वात्सल्यबाहेक अन्यको अनुगमनका लागि जाने योजना समेत मन्त्रालयले बनाएको छैन । वात्सल्य आईभीएफ लाखौंको विज्ञापन गरेर अवैध संचालन गर्न सक्छु भन्ने कत्रो आँट ? मिडिया किनेर कर्मचारी किनेर आम नागरिकलाई ठग्न पाउँछु भन्ने वात्सल्यप्रति हाम्रो निगरानी जारी रहेको छ ।

कुनै कारणले डिम्बाशयमा अण्डा नबनेर ट्युबमा पुग्दैन वा ट्युब बन्द भएर विर्य र अण्डाको संयोजन हुन पाएन अथवा पाठेघरमा बच्चा बन्ने प्रक्रिया हुन नसके आईभीएफ विधि प्रयोग गरिन्छ । बच्चा बन्ने यही प्रक्रियालाई कृत्रिम तरिकालेबाहिर प्रयोगशालामा गरिनुलाई आईभीएफ (इनभिट्रो फर्टिलाइजेशन) पद्धति भनिन्छ । सामान्य भाषामा टेष्ट्युब बेबी हो ।

आईभीएफको अवैध धन्दा चलाउने वात्सल्य नेचुरल आईभीएफ प्रालि कर छलीमा पनि संलग्न भएको आशंका गरिएको छ । वात्सल्यलेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति नै नलिई टेस्टट्युब बेबी सेवा संचालन गरेको पुष्टिसँगै कर छलीमा पनि उक्त कम्पनी संलग्न रहेको आशंका गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्सालमा सञ्चालमा रहेको वात्सल्य नेचुरल आईभीएफले स्वास्थ्य मन्त्रालयबाट अनुमतिनै नलिई टेस्टट्युब बेबीको अवैध धन्दा चलाइरहेको स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ##वात्सल्य आईभिएफ, #टेस्टट्युब बेबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com