चिकित्सक संघलाई ‘मेडिकल म्युजियम’ बनाउन बागमती प्रदेश सरकारले सहयोग गर्ने

एनएमएका अध्यक्ष डा. लोचन कार्कीको मेडिकल म्युजियम बनाउने प्रस्तावमा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको समर्थन


काठमाडौं । नेपाल चिकित्सक संघलाई चिकित्सा संग्रहालय (मेडिकल म्युजियम) बनाउन बागमती प्रदेश सरकारले सहयोग गर्ने भएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले नेपाल चिकित्सक संघ (एनएमए)लाई ‘मेडिकल म्युजियम’ बनाउन आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एनएमएका अध्यक्ष डा. लोचन कार्कीको मेडिकल म्युजियम बनाउने प्रस्तावमा पर्यटनमन्त्री श्रेष्ठले समर्थन जनाउँदै त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० सालको बजेटमा ‘मेडिकल म्युजियम’को पूर्वाधार तयार पार्न आवश्यक पर्ने बजेट विनियोजन गरिदिने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

नेपालमा पहिलोपटक ऐतिहासिक ‘मेडिकल म्युजियम’ बनाउने अध्यक्ष कार्कीको प्रस्तावमा उत्साहित भएका संस्कृतिमन्त्री श्रेष्ठले ‘मेडिकल म्युजियम’ बनाउनका लागि आफूल जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघका केन्द्रीय कार्यालयमा एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण तथा अन्य चिकित्सा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको संकलन गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा एक नवीनतम चिकित्सा संग्रहालयको स्थापना गर्ने प्रमुख उद्देश्य राखी नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागेको अध्यक्ष डा. कार्कीले जानकारी दिए । यसका लागि आवश्यक पूर्वाधार तयार पार्न झन्डै ५० लाख रुपैयाँ बजेट आवश्यक देखिन्छ ।

नेपालमा मेडिकल म्युजियम आवश्यक रहेको बताउँदै आएका बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ डा. कार्कीको प्रस्ताव आउन साथ उत्साहित बनेका छन् । बागमती प्रदेशले प्रदेशभर विभिन्न संग्रहालय निर्माण र व्यवस्थापन गर्दै आएकोमा नयाँ सोचका साथ आएको मेडिकल म्युजियममा पर्यटनमन्त्री श्रेष्ठ निकै सकारात्मक देखिन्छन् । यो म्युजियमले नेपालमा मेडिकल टुरिजम फस्टाउने मन्त्री श्रेष्ठको विश्वास छ ।

नेपालमा मेडिकल टुरिजमको सम्भाव्यताको विषयमा निरन्तर छलफल गरिरहेका उनी नेपाल चिकित्सक संघले स्थापना गर्न खोजेको मेडिकल म्युजियमलाई त्यसको एउटा कडीको रुपमा लिन्छन् ।

 

नेपाल चिकित्सक संघले अघि सारेको मेडिकल म्युजियममा प्रदेश सरकारको समेत उपस्थिति रहनु सकारात्मक रहेको मेडिकल क्षेत्रका अगुवाहरु बताउँछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीको चिकित्सा क्षेत्र केही गर्न खोज्ने प्रयासलाई मन्त्री श्रेष्ठले साथ दिने भएका छन् । मेडिकल म्युजियम बने नेपाल मेडिकल दुरिजमको प्रवर्द्धन हुने उनको बुझाइ छ ।

नेपाल चिकित्सक संघले संघसंस्था, अस्पताल वा व्यक्तिगत तवरबाट प्राप्त ऐतिहासिक मेडिकल उपकरण तथा चिकित्सा सेवामा प्रयोग भइसकेका सामग्रीहरु संकलन गरेर मेडिकल म्युजियममा राख्ने भएको छ । त्यस्ता सामग्री रहेको जानकारी दिए चिकित्सक संघबाटै संकलन गरी उक्त सामग्रीहरू उपलब्ध गराउने संघले संघसंस्था, अस्पताल वा व्यक्तिको नाम र ठेगाना संग्रहालयमा राखी सुरक्षित तवरले प्रदर्शन गरिने संघका अध्यक्ष डा. कार्कीले बताए ।

संघसंस्था, अस्पताल वा व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरू, प्रमाण पत्र, पुस्तक र अमूल्य मेडिकलसँग सम्बन्धित उपकरणहरूलगायत अन्य सामग्रीहरू नेपाल चिकित्सक संघलाई यथाशीघ्र उपलब्ध गराइदिन पनि संघका अध्यक्ष डा. कार्कीले अनुरोध गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा
ट्याग : ## प्रदेश सरकार, #एनएमए मेडिकल म्यूजियम, #नेपाल चिकित्सक संघ, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com