स्वास्थ्य लाइभ प्रभाव

सरकारी जग्गा नर्भिक अस्पताललाई कौडीको भाउमा भाडामा दिएको विषयमा अख्तियारले पत्र काट्यो


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा नर्भिक अन्तर्राष्ट्रिय अस्पताललाई कौडीको भाउमा भाडामा दिएको विषयमा सरकारलाई पत्र काटेको छ ।

वसन्त चौधरीलगायतको स्वामित्वमा रहेको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताललाई कौडीको भाउमा डेढ रोपनी जग्गा भाडामा दिएको विषय स्वास्थ्य लाइभले खुलास गरेपछि अख्तियारले पत्र काटेको हो ।

स्वास्थ्य लाइभले नर्भिक अस्पतालले अनधिकृत सरकारी जग्गा हत्याएको खुलासा गरेको एक हप्ता नबित्दै अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र काटेको फेला परेको छ । पत्र काट्ने निर्णय भने समाचार प्रकाशित भएकै दिन गरेको देखिन्छ ।

‘काठमाडौं महानगरपालिका वडा नम्बर ११ कित्ता नम्बर २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा सरकारी जग्ग तत्कालीन भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीले अख्तियारको दुरुपयोग गरी नर्भिक इन्टरनेशनल हस्पिटलसँग मिलेमतो गरी अधिकृत रुपमा मिति २०६५ जेठ २२ मा भाडामा लिनेदिने सम्झौता गरेको विषयमा मिति २०७९ बैशाख ८ गते स्वास्थ्य लाइभ खबरमा प्रकाशित समाचारका सम्बन्धनमा के कसो भएको हो ? उक्त जग्गा नर्भिक  इन्टरनेशनल हस्पिटललाई भाडामा दिने सम्बन्धमा नेपाल सरकारबाट भएको निर्णय, सो जग्गाको श्रेस्ता, नक्सा, फिल्डबुकलगायत सम्झौतासहितको सम्पूूर्ण कागजहरुको प्रमाणित प्रतिलिपिसहित यथार्थ विवरणसहितको प्रतिवेदन १५ (पन्ध्र) दिनभित्र यस आयोगको महाशाखा नम्बर २ प्राप्त हुने गरी पठाउन आयोगको मिति २०७९ बैशाख ८ को निर्णायानुसार अनुरोध छ ।’, अख्तियारले भूमि व्यवस्था मन्त्रालयलाई लेखेको पत्रका उल्लेख छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ११ कित्ता नम्बर २०८५ को १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा नर्भिक अस्पतालले वार्षिक ३७ हजार ९ सय ८९ रुपैयाँ अर्थात् कौडीको भाउमा भाडामा हत्याएको तथ्य स्वास्थ्य लाइभले फेला पारेको हो । सरकारी जग्गा भोगाधिकार वा लिज(भाडा)मा लिनदिन मन्त्रिपरिषद्को निर्णयबाट मात्र सकिनेमा मन्त्रालयबाटै निर्णय गरेको दिएको पाइन्छ ।

अख्तियारले उक्त जग्गा नर्भिक  इन्टरनेशनल हस्पिटललाई भाडामा दिने सम्बन्धमा नेपाल सरकारबाट भएको निर्णय मागको हो । नर्भिक अस्पतालले थापाथलीको ‘प्राइम लोकसेन’मा रहेको उक्त जग्गा सरकारी जग्गा भूमि व्यवस्था मन्त्रालयका अधिकारीहरुसँगको मिलेमतोमा कौडीको भाउमा भाडामा लिएको विषयमा स्वास्थ्य लाइभले क्रमशः खुलास गर्दै जानेछ ।

सरकारी जग्गा ठूला व्यापारी घराना र उच्च सरकारी अधिकारीको मिलेमतोमा कसरी दुरुपयोग गरिन्छ भनेर आम जनमानससमक्ष पुर्‍याउने स्वास्थ्य लाइभको प्रयास निरन्तर जारी रहने छ ।

क्याटेगोरी : सुशासन
ट्याग : #नर्भिक इन्टननेशनल हस्पिटल, #नर्भिकले कौडीको भाउमा जग्गा भाडामा लियो, #लुम्ब प्रसाद शिवाकोटी, #वसन्त कुमार चौधरी, #सरकारी जग्गामा निजी अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com