स्वास्थ्य लाइभ प्रभाव

नर्भिक अस्पतालले बनाएको अवैध संरचना भत्काउन निर्देशन


काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बनाएको अवैध भवन तथा संरचना भत्काउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

स्वास्थ्य लाइभले नर्भिक अस्पतालले पक्की संरचना बनाउन नपाउने सम्झौताविपरीत सरकारी जग्गामा एमआरआई भवन, अक्सिजन प्लान्ट भवनलगायतका संरचना बनाएको सार्वजनिक गरेको थियो । जग्गाको संरचना बिगारेर पार्किङका लागि भाडामा लिएको जग्गामा काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी भवन बनाएपछि काठमाडौं महानगरपालिकाले भत्काउन निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छन् । प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कित्ता नम्बर २०८५ को क्षेत्रफल १ रोपनी ८ आना १ पैसा १ दाम जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फको निर्मित संरचनाहरू (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सापास स्वीकृत नगरी निर्माण भएको पाइएकाले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना १४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ । अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।’, नर्भिक इन्टरनेसनल हस्पिटलमा टाँसेको सूचनामा उल्लेख छ ।

नर्भिकलाई उक्त जग्गा कौडीको भाउमा भाडामा दिने सम्झौतामा तत्कालीन भूमिसुधार अधिकारी लुम्बप्रसाद शिवाकोटीले गरेका थिए ।

नर्भिकले सम्झौताको बुँदा नम्बर ८ मा ‘दोस्रो पक्ष (नर्भिक)ले भाडामा प्रयोग गर्ने उक्त जग्गा पहिलो पक्ष (सरकार)ले लिन चाहेमा ३ महिनाको अग्रीम सूचना दिई जग्गा खाली गराउन सक्ने र दोस्रो पक्षलाई आवश्यक नपरे ३ महिनाको अग्रीम जानकारी गराई जग्गा छाड्न पाउने छ’ भन्ने उल्लेख छ ।

उक्त जग्गामा पछि परिवर्तन गर्न नसकिने पक्की भवन नर्भिकले बनाउन नपाउने सम्झौताको बुँदा नम्बर ७ मा शर्त राखिए पनि नर्भिक त्यो ठाउँमा पक्की भवन बनाएको देखिन्छ । बुँदा नम्बर ६ को शर्तविपरीत नर्भिकले उक्त जग्गाको भौतिक अवस्था समेत बिगारेको छ । यी सबै कुरा हेर्दा नर्भिकले सम्झौताविपरीत काम गरेको देखिन्छ । नर्भिकले महानगरपालिकाबाट नक्सापास नगरेर उक्त संरचना नै अवैध बनाएको खुल्न आएको छ ।

एकातिर प्रसूति गृहका लागि ठाउँ अभाव त छँदैछ । अर्कोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सरकारी कार्यालयका लागि ठाउँ अभाव भएकाले निजी संस्थालाई उक्त जग्गा भाडामा नदिन भूमि व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।  सम्झौताको शर्त उल्लंघन गर्दै नर्भिकले सरकारी जग्गामा पक्की भवन समेत बनाएको छ । सरकारले ३ महिनाको अग्रीम सूचना दिएर जग्गा खाली गराउन सक्ने देखिन्छ । यी आधारमा वसन्त कुमार चौधरी लगायतको स्वामित्वमा रहेको नर्भिक अस्पतालले २० वर्षदेखि रजाइँ गरिरहेको सरकारी जग्गा खाली गराउन आवश्यक देखिन्छ ।

नर्भिकको अवैध संरचना भत्काउने सूचना टाँस्दा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकार आफैं फिल्डमा उपस्थित भएका थिए ।

पर्यटनमन्त्री श्रेष्ठ कौडीका भाउमा नर्भिकलाई भाडामा दिएको उक्त जग्गाको सम्झौता खारेज गरेर प्रसूति गृहलाई दिनुपर्छ भन्ने पक्षमा छन् । सम्झौता रद्द गरेर सार्वजनिक हितमा ल्याउन पर्यटनमन्त्री श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको समेत ध्यानाकर्षण गराएका छन् ।

काठमाडौंका मेयर बालेनलाई पर्यटनमन्त्री श्रेष्ठले भूमाफिया इन्द्रकुमार चाम्लिङले हडपेको जग्गामा बनेको संरचना समेत भत्काउन आग्रह गरेका छन् ।  काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर देवीनगरस्थित धोबीखोला करिडोरमा भूमाफिया चाम्लिङले सरकारी जग्गामा १० वटा भवन तथा संरचना निर्माण गरेर मासिक लाखौं भाडा खाइरहेका छन् । त्यो कुरा पनि स्वास्थ्य लाइभले खुलासा गरिसकेको छ । ती संरचना भत्काउन समेत पर्यटनमन्त्री श्रेष्ठले मेयर शाहलाई ध्यानाकर्षण गराएका हुन् ।

त्यस्तै देवीनगरमै मेडिकल व्यवसायी दुर्गा प्रसाई (मार्सी)का भाइ युवराज प्रसाईले सरकारी जग्गा हडपेर बनाएको अवैध संरचनाका विषयमा पनि मेयर शाहले चासो देखाएका छन् ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १० देवीनगरस्थित देवीनगर क्लबसँगै रहेको युवराजको पहेँलो घरले सरकारी जग्गा मिचेको पाइएको हो । झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गाका भाइ युवराजले आफ्नो घर बनाउँदा अगाडि भागमा रहेको सरकारी जग्गामा तीनवटा सटर निकालेर संरचना बनाएको स्थानीयको भनाइ छ । उनले स्कुलको जग्गा समेत हडपेका छन् । त्योसँगै अष्टमान महर्जनले पनि सरकारी जग्गामा ६ वटा सटर हालेर भाडा खाइरहेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : #११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकार, #अबैध संरचना, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #नर्भिक अस्पताल, #संस्कृति तथा पर्यटनमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com