स्वास्थ्य प्रयोजनसहित पूर्व मन्त्री भद्र घलेले हडपेको सरकारी जग्गामा महानगरले अख्तियारलाई टेरेन


काठमाडौं । काठमाडौं महानगरपालिका स्वास्थ्य प्रयोजनसहित पूर्व मन्त्री भद्र घलेले हडपेको सरकारी जग्गाको विषयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग लाई नटेरेको पाइएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित करिब ११ रोपनी सरकारी जग्गा पूर्व मन्त्री भद्र घलेले हडपेको विषयमा अख्तियारले काठमाडौं महानगरपालिकासँग विवरण मागेको थियो । तर, काठमाडौं महमहानगरपालिका वडा नम्बर १० ले अख्तियारको पत्रलाई ‘फूली’ लगाइदिइएको पाइएको छ । अख्तियार स्रोतका अनुसार महानगरले अहिलेसम्म भद्र घलेले हडपेको जग्गाको विवरण उपलब्ध गराएको छैन ।

स्वास्थ्य लाइभले स्वास्थ्य प्रयोजनसहित भद्र घलेले ११ रोपनी जग्गा कब्जा गरेकोमा अख्तियारको चासो राखेको तथ्य सार्वजनिक गरेको थियो । त्यसको दुई महिना हुन लाग्दा समेत काठमाडौं महानगरपालिका वडा नम्बर १० ले विवरण नपठाएको पाइएको हो । अख्तियारले भद्र घलेले हडपेको सरकारी जग्गाको विषयमा वडा नम्बर १० लाई विवरण दिन पटक-पटक ताकेता गरेको छ । पछिल्लो समय १५ दिनभित्र विवरण पठाउन निर्देशन दिएकोमा २ महिना हुँदा समेत महानगरले अख्तियारलाई नटेरेको पाइएको हो ।

अख्तियारमा भद्र घलले कब्जा गरेको ११ रोपनी सरकारी जग्गामा कृष्ण सार्वजनिक स्वास्थ्य सेवा सदनलगायतका संस्था खडा गरेर गैर कानुनी आर्थिक लाभ लिएको उजुरी परेको थियो । त्यस्तै भद्र शिक्षा सदन, कृष्ण भक्त एवं भक्त कुमारी घले पाहुना घर बनाउनुका साथै सटर, पसलकवलहरू निर्माण उठाई आर्थिक लाभ समेत लिइरहेको भन्ने व्यहोरा समेतको अख्तियारमा उजुरी परेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित कित्ता नम्बर १२,१२, १२२, २२३, २२५ र २२६ लगायका धोबीखोलाका अन्य सरकारी/सार्वजनिक जग्गा भद्र कुमारी घले सदनले गैर कानुनी रुपमा कब्जा गरेको हो । ती जग्गाहरूमा संरचाना निर्माण गरेर भाडा खाइरहेको विषयमा अख्तियारले काठमाडौं महानगरपालिकालाई पटकपटक ध्यानाकर्षण गराएको पाइएको छ । तर, वडा कार्यालयले अख्तियारको पत्रलाई ‘डस्बिन’मा हालिदिएको हो । यो एक हिसाबले अख्तियारलाई नटेरेको अख्तियारका अधिकारीहरु बताउँछन् ।

सार्वजनिक/सरकारी जग्गाहरु कब्जा गरी जेष्ठ नागरिक सदन, उपत्यका तमु गुम्बालाई जग्गादान दिई सो समितिले ५ तलेसम्मको भवन निर्माण गरी कार्यालय समेत स्थापना गरेको अख्तियारले जनाएको छ । सरकारी/सार्वजनिक जग्गा मन्त्रिपरिषद्को निर्णयबाट मात्र प्राप्त गर्न सकिन्छ । संरचना बनाउँदा नक्सापास अनिवार्य रुपमा गर्नु पर्छ । तर, अख्तियारका अनुसार भद्र कुमारी घलेले सबै सीमा पार गरेर सरकारी जग्गाको ब्यापक दुरुपयोग गरेकी छिन् ।

अख्तियारले महानगरसँग स्वास्थ्य सेवा सदनलगायतका भवन रहेको जग्गाको कित्ता नम्बर, क्षेत्रफल तथा नक्सा समेतको विवरण उक्त संस्था तथा समितिहरूले सरकारी सार्वजनिक जग्गा अतिक्रमण तथा कब्जा गरे/नगरेको यकिन गरी सो सम्बन्धमा स्पष्ट राय प्रतिक्रिया सहितको अध्ययन प्रतिवेदन माग गरेको छ । पटक पटक ताकेता गर्दा पनि जवाफ नपाएपछि उक्त विषयमा अख्तियारले ‘एक्सन’ लिन्छ हेर्न बाँकी छ ।

क्याटेगोरी : सुशासन
ट्याग : ## अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #काठमाडौं महानगरपालिका, #भद्र कुमारी घले, #सार्वजनिक सरकारी जग्गा

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com