कास्कीको सिडिओ रूद्रादेवी शर्मा, भरतमणि पाण्डे मन्त्रालय तानिए

कास्की, धनुषा, बर्दिया र पाँचथरमा नयाँ सिडिओ


काठमाडौं। कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डे गृह मन्त्रालय तानिएका छन्। पाण्डे कास्कीको सिडिओ भएर गएको १ वर्ष पूरा भएपछि गृह मन्त्रालय तानिएका हुन्। कास्कीको सिडिओ भने रूद्रादेवी शर्मा बनेकी छिन्। बर्दियाको प्रमुख जिल्ला अधिकारी रहेकी शर्मा कास्कीको सिडिओ भएर आएकी हुन्। शर्मा र पाण्डे २०८१ जेठ १६ गते एकैदिन बर्दिया र कास्कीको सिडिओ भएर गएका थिए।

कास्कीको सिडिओ भएकी शर्माले रामेछाप, गुल्मी, भक्तपुर काभ्रेपलाञ्चोकलगायतका जिल्लाको सिडिओ भएर काम गरिसकेकी छिन्। कास्कीको सिडिओबाट गृह मन्त्रालय फिर्ता भएका सहसचिव पाण्डे पनि मकवानपुर, चितवन, रुपन्देहीको सिडिओ भइसकेका छन्। बर्दियाको सिडिओमा भने ३ महिनादेखि गृह मन्त्रालयमा ‘घाम तापिरहेका’ सुरेन्द्र पौडेललाई पठाइएको छ।

धनुषाको प्रमुख जिल्ला अधिकारीबाट फिर्ता भएका रामुराज कडरिया झन्डै साढे १४ महिना सिडिओ चलाएर गृह मन्त्रालय फिर्ता भएका छन्। २०८० चैत ८ गते सिडिओको जिम्मेवारी सम्हालेका कडरिया गृहबाट ‘आउट’ हुन खोजेका छन्। धनुषाको सिडिओमा भने झन्डै साढे दुई महिनादेखि गृहको बरण्डामा ‘घाम तापिरहेका’ शंकरहरि आचार्य पठाइएको गृह मन्त्रालय स्रोतले बतायो। सुर्खेतको सिडिओ रहेका आचार्य चैत पहिलो हप्ता गृह मन्त्रालय फिर्ता भएका थिए।

विष्णुप्रसाद कोइराला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालय आएपछि रिक्त रहेको पाँचथरको प्रमुख जिल्ला अधिकारीमा अरूण पोखरेललाई पठाइएको छ।नवलपरासी (पूर्व)बाट साढे २ महिना अगाडि गृह मन्त्रालयको जगेडामा तानिएका पोखरेल पाँचथरका सिडिओ भएर जाने हुन्।

रोल्पाको सिडिओ खिमबहादुर रायामाझी, भोजपुरको सिडिओ नरबहादुर थापा, ईलामको सिडिओ कल्पना श्रेष्ठको पनि अवधि पुगिसकेको छ। तर, उनीहरूलाई भने चलाईएको छैन।
गृह मन्त्रालयका ४ महिनादेखि सहसचिव प्रेमप्रसाद भट्टराईलाई हल्लिरहेका छन्। सहसचिवहरू बासुदेव दाहाल, नेत्रप्रसाद सुवेदी, केदारनाथ शर्मा, सुनिता नेपाल, बुद्धबहादुर गुरुङ, लालबाबु कवारी अझै गृहको बरण्डामै छन्। अध्यागमनबाट तानिएका सहसचिव तिर्थराज भट्टराई पनि गृहमै चलखेल गरिरहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #अरुण पोखरेल, #भरतमणि पाण्डे, #रामुराज कडरिया, #रुद्रादेवी शर्मा, #विष्णुप्रसाद कोइराला, #सुरेन्द्र पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ