विजय उत्सव मनाउन रुपेनी गाउँपालिकाद्वारा सार्वजनिक विदा, स्वास्थ्य संस्था बन्द गराएर गृह मन्त्रालयलाई चुनौती


काठमाडौं । सप्तरीको रुपेनी गाउँपालिकाले नवनिर्वाचित जनप्रतिनिधिको विजय उत्सव मनाउन गाउँपालिका क्षेत्रभित्रका सरकारी कार्यालय, संघसंस्था, शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुलगायत सम्पूर्ण कार्यालयहरुमा आज विदा दिएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित दिनेश कुमार यादवको निर्देशनमा रुपेनी गाउँपालिकाभित्रका अत्यावश्यक स्वास्थ्य संस्थामा समेत विदा दिइएको छ । गृह मन्त्रालयले शनिबार र आइतबार विदा दिने निर्णय गर्दै स्वास्थ्य संस्थालगायत सार्वजनिक सेवा प्रवाह गर्ने निकाय दुई दिनभन्दा बढी विदा दिन नपाउने सूचना जारी गरेको थियो । तर सप्तरीको रुपेनी गाउँपालिकाले शनिबार र आइतबार विदा भएका स्वास्थ्य संस्थालगायत सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई विदा दिएको छ । यो गृह मन्त्रालयको निर्णयमाथि ठाडो चुनौती हो ।

स्वास्थ्य संस्थालगायतमा लगातार तेेस्रा दिन सार्वजनिक विदा दिने सप्तरीको रुपेनी गाउँपालिकामा झिनो मतान्तरले अध्यक्ष/उपाध्यक्षमा लोसपाका यादव र पुष्पा कुमारी श्रेष्ठ निर्वाचित भएका छन् ।

लोसपका दिनेशकुमार यादवले जनता समाजवादी पार्टी(जसपा) नेपालका हरेराम यादवलाई ३३४ मतान्तरले हराएर रुपेनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन् । दिनेशले ४ हजार २६९ मत प्राप्त गर्दा हरेरामले ३ हजार ९३५ मत ल्याएका छन् । त्यस्तै उपाध्यक्षमा लोसपाकी श्रेष्ठले ५६ भोट बढी ल्याएर जसपाकी बेचनीकुमारी सरदारलाई पराजित गरेकी छिन् । श्रेष्ठले ३७१० मत ल्याउदा सरदारको ३६५४ मत आएको छ ।

रुपेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द्र कुमार चौधरीले नवनिर्वाचित अध्यक्ष यादवको निर्देशनमा गृह मन्त्रालयलाई चुनौती दिँदै सार्वजनिक सेवा प्रवाह गर्ने स्वास्थ्य संस्था विदा गरिदिएपछि यो विषय बहसमा आएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल दुई दिन लगातार विदा परेपछि तेस्रो दिनपनि स्वास्थ्य संस्थामा विदा दिन नपाउने स्पष्ट पार्छन् । स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले स्वास्थ्य संस्था विदा दिएको विषय सिडिओले कारबाही  गर्नु पर्ने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनार्दन गौतम रुपनी गाउँपालिकाले लगातार तेस्रो दिन स्वास्थ्य संस्था विदा दिने गरी गरेको निर्णयको विषयमा भर्खर थाहा पाएको बताउँछन् । यो विषयमा बुझ्ने तयारी भइरहेको उनले स्वास्थ्य लाइभलाई जानकारी दिए । यो विषयमा रुपेनीका प्रमुख प्रशासकीय अधिकृत चौधरीलाई स्वास्थ्य लाइभले बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

 

क्याटेगोरी : प्रदेश, सुशासन
ट्याग : #गृह मन्त्रालय, #दिनेशकुमार यादव, #रुपनी गाउँपालिका, #विजय उत्सव मनाउन सार्वजनिक विदा, #सप्तरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com