स्वास्थ्य लाइभ प्रभाव

कोरोनाकालमा अनधिकृत भाडामा दिएको त्रिभुवन पार्कको जग्गा छानबिन गर्न समिति बन्यो


काठमाडौं । कोरोनाकालमा अनधिकृत भाडामा दिएको थानकोटस्थित त्रिभुवन पार्कको जग्गा छानबिन गर्न समिति बनेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कानुन सचिव विनोद भट्टराईको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनेको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले स्वास्थ्य लाइभलाई जानकारी दिए । समितिले एक हप्ताभित्र छानबिन प्रतिवेदन बुझाउने उनको भनाइ छ । समितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयका प्रतिनिधि रहेका छन् । छानबिन समितिले आजैबाट काम थाल्ने पर्यटनमन्त्री श्रेष्ठको भनाइ छ ।

स्वास्थ्य लाइभले कोरोनाकालका थानकोटस्थित त्रिभुवन पार्कको जग्गा अनधिकृत रुपमा कौडीको भाउमा निजी कम्पनीलाई भाडामा लगाएको समाचार प्रकाशित गरेको थियो । त्यो समाचार आएलगत्तै पर्यटनमन्त्री श्रेष्ठ एक्सनमा उत्रिएका हुन् । पर्यटनमन्त्री श्रेष्ठको प्रस्तावमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री कार्यालयका कानुन सचिव भट्टराईको नेतृत्वमा छानबिन समिति बनाएका हुन् ।

त्रिभुवन पार्कको मुख्य आकर्षणको रुपमा रहेको ५० रोपनी जग्गा श्री एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एण्ड ट्रेड कन्सर्न प्रालीलाई प्रतिष्ठानले कौडीको भाउमा भाडामा लगाएको हो । मन्त्रिपरिषद्ले मात्र उक्त जग्गा भाडामा लगाउन सक्नेमा त्रिभुवन पार्कको उक्त जग्गा कौडीको भाउमा निजी कम्पनीमा भाडामा लगाउँदा शहीद स्मारक प्रकृति प्रतिष्ठानले आफूखुसी निर्णय गरेको देखिन्छ । यो प्रतिष्ठानले सरकारसँग स्वीकृति लिएको प्रमाण पेश गर्न सकेको छैन ।

अख्तियारले मुद्दा चलाएको भृकुटीमण्डस्थित फन पार्कको जग्गा काण्ड बिर्स्याउने  गरी सरकारी जग्गा एउटा एनजिओले निजी कम्पनीलाई कौडीको भाउमा भाडामा लगाएको हो ।

त्रिभुवन पार्कको पूर्वाधार विकासका लागि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख बिष्णु भण्डारीसहित थानकोट पुग्दा उक्त रहस्य खुलेको हो ।

सरकारी/सार्वजनिक जग्गा संरक्षण खरो रुपमा लाग्दै आएका पर्यटनमन्त्री श्रेष्ठ आफ्नै मन्त्रालयसँग जोडिएको त्रिभुवन पार्कको जग्गा अनुमतिबेगर शहीद स्मारक प्रकृति प्रतिष्ठानले भाडामा लगाएको सुन्न साथ त्यसको यथार्थ खोज्न लागेका हुन् । समितिले छानबिन प्रतिवेदन बुझाउन साथ एक्सनमा जाने मन्त्री श्रेष्ठको तयारी छ । छानबिन प्रतिवेदन अनुसार काम हुने उनको भनाइ छ ।

क्याटेगोरी : सुशासन
ट्याग : #जग्गा छानविन, #त्रिभुवन पार्क फन पार्कलाई भाडामा, #बागमती प्रदेश, #बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय, #शहीद स्मारक स्मृति प्रतिष्ठान, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com