कोभिडको मौका छोप्दै शैलुङको गोलघर भाडामा लगाएपछि पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिए


काठमाडौं । कोभिडको मौका छोप्दै प्रदेश सरकारले बनाउँदै गरेको शैलुङको गोलघर भाडामा लगाएपछि बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले एक्सन लिएका छन् ।

कोभिडको मौका छोपेर शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले प्रदेशको स्वीकृतनै नलिई आफूखुसी प्रदेशको गोलघर भाडामा लगाएपछि पर्यटनमन्त्री श्रेष्ठले एक्सन लिएका हुन् । स्वास्थ्य लाइभमा प्रदेश सरकारले बनाउँदै गरेको गोलघर शैलुङ गाउँपालिकाले भाडामा लगाएको समाचार प्रकाशित गरेपछि त्यसैका आधारमा उनले एक्सन लिएका हुन् ।

स्वास्थ्य लाइभामा प्रकाशित समाचारका आधारमा पर्यटनमन्त्री श्रेष्ठले दोलखा जिल्लाको शैलुङ गाउँपालिका वडा नम्बर १ मा निर्माणधीन गोलघर कार्यसम्पन्न र हस्तान्तरण नहुँदै शैलुङ गाउँपालिकाले उक्त भवन भाडामा लगाएको विषयमा छानबिन गर्न निर्देशन दिएका थिए । उनको निर्देशनलगत्तै बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले उपत्यका पर्यटन कार्यालय प्रमुख टंकप्रसाद भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । छानबिन समितिको सदस्यमा संस्कृति तथा पर्यटन मन्त्रालयका कानुन अधिकृत मनोज कुमार गुप्ता र पर्यटन विकास आयोजनाका विशेषज्ञ इन्जिनियर दिनेश कुँवर सदस्य रहेका छन् ।

प्रदेश सरकारले दुई करोड ५३ लाखमा बनाउँदै गरेको शैलुङस्थित गोलघर शैलुङ गाउँपालिकाले अनियमित ढंगले भाडामा लगाएको हो । गाउँ कार्यपालिकामा रहेका अध्यक्ष दुलाल भाडा दिने र वडाध्यक्ष ध्रुव कुमार श्रेष्ठ ठेक्का लिने गरी स्वार्थ बाझिने गरी प्रदेश सरकारको गोलघर भाडामा लगाउने सम्झौता भएको देखिन्छ । आगामी असोजमा भाडा सम्झौता लागू हुने गरी आधा काम पनि नसकिएको अवस्थामा गत मंसिरमै शैलुङ गाउँपालिकाले उक्त गोलघर ठेक्कामा लगाएको हो ।

कोभिडको पैसा कटौती गरेर रिचार्ज पोखरी बनाउन उपभोक्तामार्फत लाखौं रकम दुरुपयोग गरेका शैलुङ गाउँपालिकाका अध्यक्ष दुलालले प्रदेश सरकारले बनाउँदै गरेको गोलघरमा घोटाला गरेको देखिन्छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले आफूले नेतृत्व गरेको गोलघर गाउँपालिकाले भाडामा लगाएको विषयमा छानबिन गर्न निर्देशन दिएपछि यो घोटाला अख्तियारसम्म पुग्ने अवस्था आएको छ ।

त्रिभुवन पार्कको ५० रोपनी जग्गा शहीद स्मारक प्रकृति प्रतिष्ठान नामको एनजिओले भाडामा लगाएको विषयमा एक्सन लिएका पर्यटनमन्त्री श्रेष्ठले शैलुङको गोलघर भाडा प्रकरणमा पनि एक्सन लिएका हुन् ।

क्याटेगोरी : सुशासन
ट्याग : #बागमती प्रदेश सरकार, #भरत प्रसाद दुलाल, #शैलुङ गाउँपालिका दोलखा, #शैलुङ गाउँपालिका निवर्तमान अध्यक्ष भरतप्रसाद दुलाल, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com