ह्याम्स अस्पतालको अवैध आईभीएफ सेन्टर उद्‌घाटन गर्न प्रधानमन्त्री देउवा नजाने


काठमाडौं । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको अवैध आईभीएफ सेन्टर उद्‌घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् ।

बालुवाटार स्रोतका अनुसार भोलि बिहान साढे ९ बजे तय भएको ह्याम्स अस्पतालको भवन तथा आईभीएफ सेन्टर उद्‌घाटन कार्यक्रम रद्द गरिएको छ । उक्त कार्यक्रम विवादित रहेको पाइएपछि रद्द गरिएको बालुवाटार स्रोतले स्वास्थ्य लाइभलाई जानकारी दियो ।

ह्याम्स अस्पताल अध्यक्ष रामशरण (आरएस) भण्डारीले भोलि (मंगलबार) बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा अस्पताल भवन तथा आईभीएफ केन्द्र समुद्‌घाटन गर्ने कार्यक्रम रहेको भनेर निमन्त्रणा पठाएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति (इजाजतपत्र) नै नलिई प्रधानमन्त्री देउवालाई अवैध आईभीएफ सेन्टर उद्‌घाटन गर्न लगाएर विवादमा ल्याउन खोजेका थिए । तर स्वास्थ्य लाइभले ह्याम्स अस्पतालको अवैध आईभीएफ सेन्टर प्रधानमन्त्री देउवाबाट उद्‌घाटन गराउन खोजेको खुलासा गरेपछि विवादबाट जोगिन प्रधानमन्त्री देउवाको सचिवालयले कार्यक्रममा नआउने ह्याम्सलाई जानकारी गराएको हो ।

अहिले ह्याम्स अस्पतालले भोलि बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हुने अस्पताल भवन तथा आईभीएफ केन्द्र समुद्‌घाटन कार्यक्रम सरेको भनेर खबर पठाएको स्वास्थ्य लाइभले प्राप्त गरेको छ ।

गरिबी बिरामीलाई बन्धन बनाएर राज्यबाट पदक हत्याउने ह्याम्स अस्पतालका मालिक आरएस भण्डारीले प्रधानमन्त्री देउवालाई  अवैध आईभीएफ उद्‌घाटन गर्न लगाएर विवादमा तान्ने खेल खेलेका थिए । उक्त विवादित कदम रोकिएको छ ।  प्रधानमन्त्रीलाई यस्ताे विवादित कार्यक्रममा जान समय मिलाउने प्रधानमन्त्रीको सचिवालय पनि चुकेको देखिन्छ ।

आरएस भण्डारी विवादित पृष्ठभूमिका व्यक्ति भएकाले उनले गरेका हरेक कार्यक्रम विवादमा परेका छन् । स्वास्थ्य लाइभले तथ्य सार्वजनिक गरिदिएपछि आरएसको प्रधानमन्त्री देउवालाई फसाउने र विवादमा पार्ने षडयन्त्र असफल भएको छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : ## प्रधानमन्त्री शेरबहादुर देउवा, #आरएस भण्डारी, #ह्याम्स अवैध आईभीएफ सेन्टर, #ह्याम्स अस्पताल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com