बुद्धनगरको मेरो हस्पिटलसँगै हडपिएको ९ रोपनी जग्गा अख्तियारको छानबिनमा


काठमाडौं । बुद्धनगरस्थित मेरो हस्पिटलसँगै हडपिएको झन्डै ९ रोपनी जग्गामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । बुटवल पावर कम्पनीसहित विभिन्न व्यक्तिले हडपेको उक्त जग्गामाथि अख्तियारले छानबिन थालेको हो ।

स्वास्थ्य लाइभले बुद्धनगरस्थित मेरो हस्पिटलसँगै बुटवल पावर कम्पनीसहित सरकारी जग्गा हडपेको तथ्य सार्वजनिक गरेपछि अख्तियारले छानबिन थालेको छ । अख्तियार उच्च स्रोतका अनुसार हडपिएको उक्त जग्गा सरकारकै स्वामित्वमा ल्याउन अख्तियार लागिपरेको हो ।

साबिकमा धोबीखोला बगेको ठाउँमा ४ दर्जन बढी व्यक्तिले हडपेर रजाइँ गरिरहेका छन् । स्वास्थ्य लाइभले प्रमाणसहित समाचार प्रकाशित गरेपछि यो विषयमा अख्तियार प्रमुख प्रेमकुमार राईले नै चासो राखेकाे अख्तियार स्रोतको भनाइ छ ।बालुवाटरलगायतको ठाउँमा हडपिएको सरकारी जग्गा फिर्ता ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका अख्तियार प्रमुख राई उक्त जग्गा फिर्ता ल्याउने काममा अग्रसर भएका हुन् ।

अर्बौ मूल्य पर्ने मेरो हस्पिटलसँगै रहेको ती जग्गा जोगाउन बुद्धनगर विकास समितिले निरन्तर लड्दै आएको छ । यो विषयमा विभिन्न ठाउँमा ध्यानाकर्षण गराइएको समितिका अध्यक्ष किरण तण्डुकार बताउँछन् । अनामनगरलगायतका ठाउँमा भूमाफियाले हडपेको जग्गा फिर्ता ल्याएको अख्तियारको ध्यान बुद्धनगरको जग्गामा पनि गएको छ ।

धोबीखोलाले धार परिवर्तन गरेको जग्गामा पहुँच, पैसा र प्रभाव भएका व्यक्तिहरुको रजाइँ चलिरहेको छ । अनामनगरकै १ रोपनी बढी सरकारी जग्गामा अक्सिडेन्टल पब्लिक स्कुल (ओपीएस)ले कब्जा जमाएर रजाइँ गरिरहेको छ ।

क्याटेगोरी : सुशासन
ट्याग : #अक्सिडेन्टल पब्लिक स्कूल ( ओपीएस), #अख्तियार दुरुपयोग अनुसन्धान आयोग, #बुटवल पावर कम्पनी, #बुद्धनगर विकास समिति, #मेरो हस्पिटल, #सरकारी जग्गा दर्ता

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com