सर्वोच्चको आदेश बालेनले मात्र मान्नुपर्ने स्वास्थ्य मन्त्रालयले मान्नुनपर्ने ?


समाचार टिप्पणी

काठमाडौं । सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई सर्वोच्च अदालतले फोहोर उठाउन आदेश दियो । सर्वोच्चको आदेशसँगै आज सिंहदरबारभित्रको फोहोर उठेको छ । तर, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउन सर्वोच्च अदालतले २०५७ असारमा दिएको आदेश अहिलेसम्म कार्यान्वयन भएको छैन ।

स्वास्थ्य लाइभले सर्वोच्च अदालतको फैसला अनुसार स्वास्थ्य मन्त्रालयको अवैध तला भत्काउन पटकपटक ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । काठमाडौं महानगरपालिकाले ३ दिनभित्र सर्वोच्चको आदेश कार्यान्वयन गर्दा संघीय सरकारले २३ वर्षसम्म अदालतको आदेश मानेको छैन । यसले अदालतको फैसला/आदेश काठमाडौं महानगरपालिकाले मात्र मान्नुपर्ने स्वास्थ्य मन्त्रालयले मान्नुनपर्ने भन्ने गम्भिर प्रश्न खडा भएको छ ।

काठमाडौंका मेयर बालेनले पनि  स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश कार्यान्वयन नभएको विषयमा ध्यानाकर्षण गराएका छन् । अदालतको आदेश कार्यान्वयनमा संघीय सरकार बालेन इमानदार देखिएका छन् । अब स्वास्थ्य मन्त्रालयको अवैध तला भत्काएर संघीय सरकारले सर्वोच्च अदालतको फैसलाको सम्मान गरोस् ।

यस्तो छ बालेनको प्रतिक्रिया

सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ । निश्चित क्षेत्रको फोहरमैला नउठेको बिषय अदालतमा प्रवेश पाउँनु र सर्वोच्च अदालतबाट फोहरमैला उठाउन आदेश दिइनुले नागरिकको स्वच्छ र स्वस्थ ठाउँमा बस्न पाउने अधिकारको गम्भीरता थप पुष्टि हुन्छ । काठमाडौँ महानगरले फोहरमैला व्यवस्थापन र सरसफाइसँग सम्बन्धित बिषय प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराउँदै यसलाई सार्वजनिक सरोकारको बिषयकारुपमा ग्रहण गरेकोमा सम्मानित अदालतप्रति आभार व्यक्त गर्दछौँ ।

सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौँ । तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ । बागमती, बिष्णुमती र मनोहरा तथा यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ । अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने देखिन्छ ।

साथै, संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्यरुपमा समन्वय, सहकार्य गरि सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशिघ्र समाधान गर्नु पर्ने कुरा दृढताका साथ व्यक्त गर्न चाहन्छौँ ।

क्याटेगोरी : सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com