सुन तस्करीमा नाम मुछिएका दिपकको अवैध धन्दालाई दिपेन्द्रले यसरी ‘ब्रेक’ लगाइदिए


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न माध्यमबाट १ क्विन्टल सुन तस्करी गरेको अनुसन्धानको सुईरो व्यापारी दिपक मल्होत्रातिर सोझिएको छ । विमानस्थलभित्रै अवैध मेडिकल ल्याब सञ्चालन गर्ने कार्यमा संलग्न मल्होत्रा हालसालै भएको सुन तस्करी घटनामा मुछिएका छन् ।

हरेक सुन तस्करीमा नाम मुछिदै आएका व्यापारी मल्होत्राको धन्दा यतिमा मात्रै सीमित छैन । उनी सरकारी जग्गा हडपेर अवैध धन्दा चलाउने समेत पर्छन् । व्यापारी मल्होत्राले काठमाडौं महानगरपालिका वडा नम्बर ११ बबरमहलस्थित ३ रोपनी सरकारी जग्गा कब्जा गरेर ओलम्पिया स्कुललाई भाडामा लगाएका थिए । २० वर्षदेखि सरकारी जग्गा हडपेर अनधिकृत संरचना बनाएर मासिक १० लाख भाडा खाइरहेका व्यापारी मल्होत्राको अवैध धन्दालाई त्यसै क्षेत्रबाट निर्वाचित बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठले ‘ब्रेक’ लगाइदिएका थिए । कोरोनाकालामा सांसद श्रेष्ठले डोजर हानेर व्यापारी मल्होत्राको अनधिकृत संरचना भत्काइदिएका हुन् ।

व्यापारी मल्होत्रा काठमाडौं महानगरपालिका वडा नम्बर ११ सिट नम्बर १०२-११४५-२० कित्ता नम्बर १२४ को धोबीखोला बग्ने सरकारी जग्गा अतिक्रमण गरी अनधिकृत संरचना निर्माण गरी भाडा खाइरहेका थिए । बबरमहल वसन्तनगर किङ्स कलेजसँगै रहेको उक्त अवैध संरचनामा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले असहयोग गर्दागर्दै प्रदेश सांसद श्रेष्ठले डोजर लगाएर खाली गराएका हुन् । अहिलेसम्म कै ठूलो सुन तस्करीमा मुछिएका व्यापारी मल्होत्राको धन्दालाई जोखिम मोलेर सांसद श्रेष्ठले पर्दाफास गरे ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर २९  कालिकास्थानमा रहेको ऐतिहासिक धारा पोखरीमा पनि व्यापारी मल्होत्राले आँखा लगाएका छन् । नवीन कला मन्दिरसँगको मिलेमतोमा झन्डै ३ रोपनी क्षेत्रफलमा पोखरी मासेर व्यापारिक कम्प्लेक्स बनाउन चलखेल गरिरहेका छन् । उक्त चलखेल रोकेर ऐतिहासिक धारा पोखरी संरक्षण गर्न सांसद प्रकाशमान सिंह र दिपेन्द्र श्रेष्ठ लागिपरेका छन् । सरकारी जग्गा अतिक्रमण गरेर ओलम्पिया स्कुललाई भाडामा लगाउन सफल व्यापारी मल्होत्रा  ऐतिहासिक धारा पोखरी खान लागिपरेका हुन् । उक्त धन्दा रोक्न प्रकाशमान-दिपेन्द्र कति सफल हुन्छन् हेर्न बाँकी छ ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #दिपेन्द्र श्रेष्ठ, #व्यापारी दिपक मल्होत्रा, #सुन तस्कर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com