ओमका अध्यक्ष डा. आनन्दको परिवारले महादेव मन्दिरमा गरेको अतिक्रमण हट्यो


काठमाडौं । नयाँ बानेश्वरस्थित मुख्य सडकसँग जोडिएको महादेव मन्दिरको जग्गामा अतिक्रमण गरी बनाइएको अवैध संरचना पूर्ण रुपमा हटेको छ । ओम अस्पतालका अध्यक्ष डा. आनन्द श्रेष्ठकी श्रीमती सूर्यकुमारीको समूहले उच्च अदालत, पाटनबाट मुद्दा हारेपछि उक्त अनधिकृत संरचना पूर्ण रुपमा हटेको हो ।

स्वास्थ्य लाइभले सूर्यकुमारी श्रेष्ठको नेतृत्वमा रहेको महिला आदर्श सेवा केन्द्रले ४० वर्षदेखि रजाइँ गरिरहेको खुलासा गरेपछि उक्त समूह ब्याक भएको हो । गंगादेवी चुचोल टोल सुधार समितिले वर्षेदेखि मुद्दा लडेर काठमाडौं महानगरपालिका र जिल्ला अदालतबाट पनि भत्काउन आदेश ल्याएको थियो । तर, सूर्यकुमारीको समूह कानुनी छिद्र खोज्दै उच्च अदालत पाटन पुग्यो । काठमाडौं महानगरपालिकाको विद्यासुन्दर शाक्यसहितका तत्कालीन जनप्रतिनिधिले आलटाल गर्दा भत्काउने आदेश कार्यान्वयन हुन सकेन । अहिले उच्च अदालत पाटनले समेत सूर्यकुमारीको समूहको विपक्षमा उभिएपछि अनधिकृत संरचना हटेको हो ।

राजधानीको मुटु नयाँ बानेश्वर जस्तो ठाउँको मुख्य सडकमा जोडिएको झन्डै १ रोपनी जग्गामा सूर्यकुमारीको समूहले रजाइँ गरिरहेको थियो । सिद्धेश्वर महादेवको उक्त जग्गा हडपेर रजाइँ गरिरहेको कुरा बाहिर आएपछि हतारहतार चाबी हस्तान्तरणको नाटक मञ्चन गर्ने काम समेत भयो । स्वास्थ्य लाइभसहितका सञ्चार माध्यमले नियमित रूपमा महादेव मन्दिरको उक्त जग्गामाथि भएको अत्याचार सार्वजनिक गरेपछि अहिलेको अवस्था आएको स्थानीय किशोर थापा सुनाउँछन् ।

सूर्यकुमारीको समूहबाट जग्गा जोगाउन निरन्तर लडिरहेका थापाका अनुसार महानगर र अदालतमा फैसला लेखनमा समेत चलखेल भएको थियो । महानगरबाटै भत्काउन आदेशको पूर्णपाठ आउन निकै समय लाग्यो । काठमाडौं जिल्ला अदालतमा पनि पूर्णपाठ लेख्ने बेलामा निकै समय लागेको उनी बताउँछन् । उच्च अदालतबाट समेत मुद्दा हारेपछि महादेव मन्दिरको अतिक्रमण पूर्ण रुपमा हटेको हो ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : #ओम अस्पतालका अध्यक्ष आनन्दप्रसाद श्रेष्ठ, #नयाँ बानेश्वर, #महादेव मन्दिर, #महिला आदर्श सेवा केन्द्र, #सूर्यकुमारी श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com