प्रधानमन्त्रीको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने सिईओ रेग्मीलाई बर्खास्त गर्न सिफारिस


काठमाडौं । प्रधानमन्त्रीको शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमा प्रश्न गर्ने  पर्यटन बोर्डका सिईओ धनन्ज्य रेग्मीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ ।

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल संयोजकत्वमा गठित छानबिन समितिले सिईओ रेग्मीलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।

छानबिन समितिले सीईओ रेग्मीमाथि विभिन्न चार्ज लगाउँदै पदबाट हटाउन सिफारिस गरेको पर्यटन बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेलाई बुझाएको हो ।

छानबिन समितिका एक सदस्यकाअनुसार समितिले बुझाएको प्रतिवेदनमा अभद्र व्यवहार, सुन तस्करीदेखि बोर्डभित्र भएका आर्थिक अनियमिततालाई समेटिएको छ ।

पर्यटन बोर्डका सिईओ रेग्मीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्सीको निहुँमा भन्सारका नायब सुब्बामाथि अभद्र व्यवहार गरेको तथ्य यसअघि नै सार्वजनिक भइसकेको छ । त्यस्तै उनले सुन समेत चोरी पैठारी गरेको ठहर गर्दै कारबाही गरिएको विषय पनि खुलाएर भन्सारले छानबिन समितिलाई पत्र पठाएको थियो । सिईओ रेग्मीले बोर्डभित्र समेत योजना, बजेट र कार्यक्रममा ठूल्ठूला आर्थिक अनियमितता गरेको तथ्य फेला परेको छानबिन समितिका एक सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

पर्यटन बोर्डका सिईओ रेग्मीले  प्रधानमन्त्री शेरबहादुर देउवाको मानसिक स्वास्थ्यमाथि प्रश्न उठाउँदै आफू त्यो पदमा बस्न उपयुक्त पात्र होइन भन्ने कुराको प्रमाणित गरिसकेका छन् ।

उनले गरेको अनियमिततामा बोर्डका म्यानेजर लक्ष्मण गौतमको पनि ठूलो साथ रहेको ती सदस्यको भनाई छ ।’हामीले बोर्डका सिईओ रेग्मीलाई विभिन्न चार्ज लगाउँदै कानुन बमोजिम कारबाही गर्न भनेका छौं । त्यो भनेको अनलाई पदबाट बर्खास्त गर्नु नै हो ।’, बोर्डका एक सदस्यले स्वास्थ्य लाइभसँग भने ।

रिजाल नेतृत्वको तीन सदस्यीय छानबिन समितिमा ङावा ङिमा शेर्पा र पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल सदस्य रहेका छन् । समितिको सिफारिसअनुसार सिईओ रेग्मीमाथि कारबाही थाल्ने पर्यटनमन्त्री प्रेमबहादुर आलेले तयारी थालेका छन् ।

 

क्याटेगोरी : सुशासन
ट्याग : #उपाध्यक्ष चन्द्र रिजाल, #छानबिन समिति, #पर्यटन बोर्ड, #पर्यटन सचिव महेश्वर न्यौपाने, #पर्यटनमन्त्री प्रेम आले, #प्रधानमन्त्री शेरबहादुर देउवा, #सहसचिव होम प्रसाद लुईटेल, #सिईओ धनन्जय रेग्मी, #सुन तस्कर

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com