स्वास्थ्य लाइभ प्रभाव

नगरकोटस्थित काव्या रिसोर्टका अवैध जिएम लुकासको अध्यागमनले भिसा रद्द गऱ्यो


काठमाडौं । पर्यटक भिसामा आएर नगरकोटस्थित काव्या रिसोर्ट एण्ड स्पामा महाप्रबन्धकको रुपमा काम गरिरहेका पोल्याण्डका नागरिक लुकास प्रेन्डकेको भिसा रद्द गरिएको छ । अध्यागमन विभागले उनको भिसा रद्द गर्दै अर्को आदेश नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

स्वास्थ्य लाइभले पोल्याण्डका नागरिक लुकास पर्यटक भिसामा आएर काव्या रिसोर्टको जिएम बनेको खुलासा गरेको थियो । उक्त समाचारपछि अध्यागमन विभागले एक्सन लिएको हो ।

पर्यटन भिसामा नेपाल आएर अवैध काम गरिरहेका लुकास दुबई पुगिसकेका छन् । अध्यागमन विभागले केही समय अगाडि मात्र उनको भिसा अवधि थपेको थियो । काव्याले लुकासको अवैध धन्दा लुकाउँदै आएको छ । स्वास्थ्य लाइभले उक्त विषय उठान गरेसँगै श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र अध्यागमन विभागले एकसाथ कारबाही थालेका हुन् ।

अध्यागमन विभागले जिल्ला प्रशासन कार्यालय, काभ्रे र विभागको सूचना समन्वय तथा विश्लेषण शाखाबाट विवरण माग गर्दा निजले पर्यटक भिसामा कामकाज गरिरहेको भन्ने आशयको विवरण प्राप्त भएकाले भिसा रद्द गरेको जनाएको छ ।

अध्यागमन विभाग महानिर्देशक कोषहरि निरौलाले लुकासको भिसा रद्द गर्दै नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको जानकारी गराए ।

‘प्रस्तुत विषयमा पोल्याण्ड राहदानी नं. ES3274040 बाहक लुकास प्रेन्डकेले पर्यटन भिसामा रही कामकाज गरिरहेको सूचनाको आधारमा यस विभागबाट जिल्ला प्रशासन कार्यालय काभ्रे र विभागको सूचना समन्वय तथा विश्लेषण शाखाबाट विवरण माग गर्दा निजले पर्यटक भिसामा कामकाज गरिरहेको भन्ने आशयको विवरण प्राप्त भएकाले यस विभागको मिति २०८१/०१/२५ को निर्णयानुसार निजको बाँकी अवधिको भिसा रद्द गरी तत्कालका लागि अर्को आदेश नभएसम्मको लागि नेपाल प्रवेशमा रोक लगाउने गरी निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।’, विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयलाई गराएको जानकारीमा उल्लेख छ ।

पर्यटक भिसामा आएर नेपालमा अवैध धन्दा गर्ने लुकासलाई अध्यागमनले कालोसूचीमा भने राखेको छैन । तर, अध्यागमनले चालेको उक्त कदम प्रशंशायोग्य छ । पर्यटक भिसामा नेपाल आएर लुकास जस्तै अवैध काम गरिरहेका व्यक्तिहरुको खोजी कार्यलाई अध्यागमनले तीव्रता दिनुपर्ने गृहका अधिकारीहरुको बताउँछन् । लुकासलाई नेपाल भित्र्याउने अन्तर्राष्ट्रिय होटल तस्कर टीजे ग्रुन्डी-हङमाथि पनि अध्यागमनले निगरानी गर्न आवश्यक देखिन्छ ।  श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पनि श्रम स्वीकृति नलिई विदेशीलाई काममा लगाउने काव्या रिसोर्टलाई तत्काल कानुनी कारबाही गर्न जरूरी छ ।

क्याटेगोरी : सुशासन
ट्याग : #अध्यागमन विभाग, #अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, #काव्या रिसोर्ट एण्ड स्पा, #टीजे, #लुकास प्रेन्डके

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com